काठमाडौं, असार २२ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।
बिहीबार राजधानीस्थित भण्डारीको निजी निवासमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ।
भेटका क्रममा दुबैले राजनीतिक वातावरण, स्थानीय सरकारको भूमिका र समसामयिक सामाजिक सरोकारका विषयमा विचार आदानप्रदान गरेको बताइएको छ।
पूर्वराष्ट्रपति भण्डारी केही समयअघि एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिसकेकी छन् भने मेयर बालेन स्वतन्त्र रूपमा निर्वाचित जनप्रतिनिधिका रूपमा चर्चित छन्।
यद्यपि भेटवार्ताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। तर पछिल्लो राजनीतिक गतिविधिका सन्दर्भमा यो भेट अर्थपूर्ण मानिएको छ।