बम विस्फोटको साक्षी गौरीशंकर चमारको बयान : “म अझै पनि डराउँछु, आलमले मलाई मार्न सक्छ”


बम विस्फोटको साक्षी गौरीशंकर चमारको बयान : “म अझै पनि डराउँछु, आलमले मलाई मार्न सक्छ”
  • नवकिरण
  • अषाढ २२, २०८२

काठमाडौं, असार २२ – २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा भएको बम विस्फोट घटनाको साक्षी भारतको सीतामढीका गौरीशंकर राम चमारले न्यायका लागि पुनः आवाज उठाएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार अफताब आलमका काकाको घरमा भएको बम विस्फोटमा आफू साक्षी रहेको दाबी गर्दै चमार आइतबार काठमाडौं आइपुगेका हुन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूमाथि भएको पीडा र त्रासको अनुभूति सार्वजनिक रूपमा सुनाएका हुन्।

चमारका अनुसार विस्फोट हुँदा उनी इँटाभट्टामा काम गर्दै थिए र तलब लिन आलमको काकाको घर पुगेका थिए। त्यसै क्रममा घरको ढोकानजिकै बम विस्फोट भएको र उनी भागेर ज्यान जोगाएको बताएका छन्। “आगो लागेपछि म पछाडि पानी तिर भागेँ, पानी हालें र फेरि भागेँ,” उनले सुनाए।

उक्त घटनापछि घाइते र मृतकलाई इँटाभट्टामा जिउँदै जलाइएको प्रहरीको आरोप भए पनि, उच्च अदालत वीरगञ्जले प्रमाण अभावका कारण आलमलाई सफाइ दिएको थियो। घटनाको १५ वर्षपछि सुरू भएको अनुसन्धानमा प्रमाण लोप भइसकेका थिए भने जाहेरी दर्ता गराएकी पीडित आमाको समेत गोली हानी हत्या गरिएको थियो।

“त्यस्तो मान्छे छुट्यो, मलाई दुख लाग्यो। मलाई धम्की दिएको छ, अझै पनि लाग्छ – म मारिन्छु। मलाई डर लागेको छ,” चमारले भने।

उनले हालसम्म आफूसँग अफताब आलमले के भएको भनेर कुनै सरोकार नराखेको पनि बताए। “आज म सरकारसँग माग गर्छु – यस्तो मान्छेलाई सजाय दिइयोस्, कडा भन्दा कडा कारबाही गरियोस्,” उनले भावुक हुँदै भने।

चमारले आफू बम विस्फोटमा परेर पीडित भएको दाबी गर्दै, न्याय पाउन अझै पनि राज्यको सहारा खोजिरहेका छन्।