रुपन्देही, २३ असार — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का सल्लाहकार सन्तोष गिरीले रुपन्देही–३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। तिलोत्तमा–६ निवासी गिरी अहिले नेपाल स्वीस चेम्बर अफ कमर्शका प्रमुख कार्यकारी अधिकृत (CEO) हुन्।
३३ वर्षीय गिरी एमालेनिकट अनेरास्ववियु रुपन्देहीका पूर्व सहसचिवसमेत रहिसकेका हुन्। अर्थशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गिरीले संक्षिप्त स्थानीयबासी र शुभेच्छुकहरूको आग्रहमा उम्मेदवारीको तयारी थालेको बताए।
“उम्मेदवार बन्न आग्रह भएकाले सोच बनाएको छु, तर अहिल्यै हतारिएको छैन। साउनमा निर्णय स्पष्ट हुन्छ,” गिरीले भने।
गिरीले आफूभन्दा योग्य स्वतन्त्र उम्मेदवार आएमा उनलाई सहयोग गर्ने पनि जनाएका छन्। बालेनका निकटका स्रोतहरूका अनुसार, बालेनलाई महानगरमा एक्लो पारिएको अवस्थामा संसदमा उनको पक्षमा आवाज उठाउने नेतृत्वको खाँचो महसुस गर्दै गिरीलाई अघि सार्ने तयारी भइरहेको छ।
त्यहीबीच, बुटवल मोतिपुरका लेखनाथ गैरेले भने आइतबार औपचारिकरूपमा स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन्।
रुपन्देही–३ को उपनिर्वाचन कात्तिक १७ गते हुँदैछ। यस क्षेत्रका मतदाताहरूको संख्या १ लाख ३९ हजार ७६४ छ। विगतमा कांग्रेस, एमाले, राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति, जनमतलगायत दलहरूबीच प्रतिस्पर्धा हुँदै आएको यो क्षेत्रमा अहिले पनि विविध दलका आकांक्षीहरूको नाम चर्चामा छ।
कांग्रेसबाट बालकृष्ण खाँण, भरत शाह, प्रमोद यादव लगायतको नाम अगाडि आइरहेको छ भने खाँणमाथि लागेको नक्कली भुटानी शरणार्थी प्रकरणका कारण उम्मेदवारी अनिश्चित देखिएको छ। एमालेबाट खिमलाल भट्टराई, शशी पौडेल, दधिराम न्यौपाने लगायतको नाम चर्चामा छ।
राप्रपाबाट गौरव बोहरा, प्रज्ज्वल बोहरा, स्वाती थापा लगायत आकांक्षी देखिएका छन्। एकीकृत समाजवादीबाट घनश्याम भूसाल र माओवादी केन्द्रबाट कमल भण्डारी चर्चामा छन्। नागरिक उन्मुक्तिबाट रेशम चौधरी वा धनिराम चौधरी उम्मेदवार बन्न सक्ने चर्चा छ भने जनमत पार्टीले छुट्टै उम्मेदवार उठाउने संकेत दिएको छ।
२०७९ सालको आम निर्वाचनमा कांग्रेसले २० हजार २७८ मत, एमालेले १६ हजार ९८६ मत, रास्वपाले १४ हजार १५४ मत, राप्रपाले ९ हजार १८३ मत पाएको थियो।
राजनीतिक र स्वतन्त्र दुबैतर्फबाट युवा पुस्ताको चासो बढिरहेका बेला बालेन शाहसँग निकट सम्बन्ध राख्ने सन्तोष गिरीको सम्भावित उम्मेदवारीले निर्वाचनमा नयाँ बहस सुरु गराउने देखिएको छ।
