प्रचण्डको दाबी : माओवादी नै नेपाली राजनीतिको मूलधार, अरु शक्ति प्रतिपक्ष मात्रै


प्रचण्डको दाबी : माओवादी नै नेपाली राजनीतिको मूलधार, अरु शक्ति प्रतिपक्ष मात्रै
  • नवकिरण
  • अषाढ २५, २०८२

काठमाडौं, असार २५ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल नेपाली राजनीतिको मूलधारको नेतृत्व माओवादीले गरिरहेको दाबी गरेका छन्।

फेसबुकमा एक पोस्टमार्फत उनले संविधान, लोकतान्त्रिक गणतन्त्र र उत्पीडित समुदायको अधिकार स्थापनामा माओवादीको भूमिका केन्द्रीय रहेको जिकिर गरेका हुन्।

“संख्यात्मक रूपमा हामी अहिले संसदमा तेस्रो स्थानमा छौं,” प्रचण्डले भनेका छन्, “तर एजेन्डा र विचारका दृष्टिले माओवादी नै संस्थापन पक्ष हो। अन्य दलहरू प्रतिपक्षको भूमिकामा छन्।”

उनले माओवादी आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, मजदुर, किसान लगायत उत्पीडित वर्गको हक अधिकार सुनिश्चित गरेको भन्दै त्यसको आधिकारिक उत्तराधिकारी माओवादी नै भएको उल्लेख गरेका छन्।

प्रचण्डको भनाइमा, “यो संविधान र गणतन्त्र माओवादीकै एजेन्डाबाट आएको हो। त्यसैले माओवादी नै लोकतान्त्रिक संस्थापन हो, जति सुकै संख्यामा भए पनि।”