काठमाडौं महानगरमा आज कार्यपालिका बैठक, बजेट पेस हुने तयारी


काठमाडौं महानगरमा आज कार्यपालिका बैठक, बजेट पेस हुने तयारी
  • नवकिरण
  • अषाढ २७, २०८२

काठमाडौं, असार २७ – लामो समयदेखि रोकिएको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्ने भएको छ। मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका हुन्।

महानगरको सञ्चार विज्ञ सुरेन्द्र बजगाईंका अनुसार कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समिति र त्यसपछि उपमेयर सुनिता डंगोलको संयोजनमा बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठकसमेत बस्नेछ। यी छलफलहरू सम्पन्न भएपछि दिउँसो २ बजे कार्यपालिका बैठक डाकिएको हो।

बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेटलाई अन्तिम रुप दिई नगर सभामा पेस गर्ने निर्णय गर्नेछ।

यद्यपि, मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण बैठक लामो समयसम्म बस्न सकेको थिएन। स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० भित्र बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान हुँदाहुँदै पनि महानगरपालिकाले तोकिएको समयभित्र बजेट ल्याउन सकेको थिएन।

तर पछिल्लो समयमा विवाद मत्थर हुँदै जाँदा मेयर शाहले बैठक बोलाएका छन् र प्रमुख प्रशासकीय अधिक गुरागाईं पनि सहभागी हुने भएका छन्। गुरागाईंले आफूलाई बैठकबारे जानकारी प्राप्त भएको र उपस्थित हुने बताएका छन्।

अबको बैठकले काठमाडौं महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि बजेट पेस गर्ने बाटो खुल्ने अपेक्षा गरिएको छ।