राप्रपामा नेतृत्व विवाद चुलियो, धवलशम्शेर राणाको समूहले छुट्टै भेला


राप्रपामा नेतृत्व विवाद चुलियो, धवलशम्शेर राणाको समूहले छुट्टै भेला
  • नवकिरण
  • अषाढ २८, २०८२

काठमाडौं, असार २८ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा पछिल्लो समय आन्तरिक विवाद झनै तीव्र बनेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको एकल निर्णयशैलीप्रति असन्तुष्टि जनाउँदै महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा इतर समूहले छुट्टै भेला गरेका छन्।

राणाको नक्सालस्थित सचिवालयमा बसेको उक्त भेलामा अध्यक्ष लिङ्देनले पार्टी विधानको उल्लंघन गर्दै स्वेच्छाचारी ढंगले संगठन सञ्चालन गरेको आरोप लगाइएको छ।

उनीहरुले लिङ्देनको पछिल्ला निर्णयहरूलाई प्रक्रिया मिच्ने कार्यको संज्ञा दिँदै निर्वाचन आयोगलाई औपचारिक रूपमा जानकारी दिने तयारी गरेका छन्।

भेलामा सहभागी नेताहरूले प्रवक्ता सगुन सुन्दर लावतीको बर्खास्ती तथा अनुशासन समिति संयोजक नवराज सुवेदीको हटाइपछिको विवादलाई पनि उठाएका छन्। उनीहरूका अनुसार विधानअनुसार केन्द्रीय समितिमा प्रस्ताव ल्याएर मात्रै यस्ता निर्णय गर्न सकिन्छ, जुन प्रक्रिया नअपनाई गरिएको निर्णय ‘अवैधानिक’ हो।

भेलामा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री कुन्तीकुमारी शाही, पूर्वप्रवक्ता सगुन सुन्दर लावती, सहायक महामन्त्री ऋषिराज देवकोटा, प्रेम बलायर, सौरेन्द्रबहादुर शाह लगायत करिब ५० जना नेताहरुको उपस्थिति थियो।