प्रधानमन्त्री ओलीको दाबी : “गठबन्धन चुनावसम्म नै टिक्छ, सरकार स्थिर छ”


प्रधानमन्त्री ओलीको दाबी : “गठबन्धन चुनावसम्म नै टिक्छ, सरकार स्थिर छ”
  • नवकिरण
  • अषाढ २८, २०८२

झापा, असार २८ – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन आगामी चुनावसम्म निरन्तर कायम रहने दाबी गरेका छन्। उनले विपक्षी दलले सरकारको स्थायित्वमाथि शंका गरे पनि गठबन्धन दृढ रहेको स्पष्ट पारे।

झापाको कनकाई नगरपालिकामा भूमि समस्या समाधान आयोग, जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “सरकार ढल्छ भन्नेहरूलाई कराउन दिऊँ, सरकार स्थिर छ। एक वर्ष म प्रधानमन्त्री हुन्छु, त्यसपछि सहमति अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई जिम्मेवारी हस्तान्तरण गरिनेछ। चुनावसम्म हाम्रो यात्रा यथावत् रहनेछ।”

कार्यक्रममा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको थियो। प्रधानमन्त्री ओलीले यसलाई ऐतिहासिक खुशीको क्षण भन्दै देशमा स्थायित्व कायम गर्न गठबन्धन सरकार गम्भीर रहेको उल्लेख गरे।

प्रधानमन्त्रीले भूमि व्यवस्थापनसम्बन्धी सबै समस्याहरू समाधान गर्न आवश्यक कानून चाँडै ल्याइने जानकारी पनि दिए। उनले भूमिको उचित व्यवस्थापन गरी ठूला चक बनाउने र व्यावसायिक खेतीमा जोड दिन जनतालाई आग्रह गरे।

शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाउँदै ओलीले सरकारले समृद्ध नेपालको लक्ष्यमा दृढताका साथ काम गरिरहेको बताए। उनले जनतालाई निराश नहुन र हल्लाको पछि नलाग्न समेत आग्रह गरे।