स्पेन प्रकरणमा गृहमन्त्रीको कडा कदम, अनुसन्धानका लागि उच्चस्तरीय बैठक आज


स्पेन प्रकरणमा गृहमन्त्रीको कडा कदम, अनुसन्धानका लागि उच्चस्तरीय बैठक आज
  • नवकिरण
  • अषाढ ३०, २०८२

काठमाडौं, असार ३० – स्पेनमा आयोजित एक राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने भन्दै भिसा लगाइएका व्यक्तिहरूको प्रकरणमा गृहमन्त्री रमेश लेखकले गम्भीर चासो व्यक्त गर्दै उच्चस्तरीय बैठक आह्वान गरेका छन्।

सोमबार दिउँसो १:३० बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने उक्त बैठकमा गृहमन्त्री लेखकसहित गृहसचिव गोकर्णमणि दवाडी, नेपाल प्रहरीका आईजीपी दीपक थापा, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल सहभागी हुनेछन्।

गृह मन्त्रालय स्रोतका अनुसार उक्त बैठकमा स्पेन पठाइएका व्यक्तिहरूको नाममा कुन गैरसरकारी संस्था (एनजीओ) वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले अनधिकृत रूपमा रकम संकलन गर्‍यो भन्ने विषयमा छानबिन गर्न निर्देशन दिइनेछ।

यसअघि सोमबार बिहान नै गृहमन्त्री लेखकले गृहसचिव दवाडी र प्रहरी महानिरीक्षक थापालाई मन्त्रालयमा बोलाएर यस विषयमा तत्काल छानबिन सुरु गर्न आदेश दिएका थिए।

सरकारी अनुमति बिना विदेशी कार्यक्रममा नागरिक पठाउने कार्यले मानव बेचबिखनसँग सम्बन्धित शंका उत्पन्न गराएको भन्दै गृह मन्त्रालयले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको हो।