काठमाडौं, साउन ३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेश सभा खारेजको पक्षमा रहेको स्पष्ट पारेको छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रास्वपाका सांसद तथा प्रवक्ता मनिष झाले पार्टीको नीति सार्वजनिक गर्दै भने — “हामी प्रदेश संरचना राख्ने पक्षमा छौं, तर त्यसभित्रको प्रदेश सभा खारेज गरेर नयाँ संयन्त्रमार्फत शासन प्रणालीलाई सरल बनाउने योजना अघि बढाइरहेका छौं।”
उनका अनुसार प्रदेश सभाको सट्टा प्रदेशभित्रका स्थानीय तह (पालिका) का प्रतिनिधिहरूले मिलेर सभा गठन गर्ने प्रस्ताव गरिएको छ। “पालिका प्रतिनिधिहरू मिलेर प्रदेशको काम सञ्चालन गर्नु उपयुक्त हुन्छ,” सांसद झाले भने।
रास्वपाले संघीय तहमा रहेका २१ मन्त्रालय घटाएर १५ मा सीमित गर्ने र झण्डै ११२ वटा आयोग तथा नियोगहरू खारेज गरी राज्यको खर्च घटाउने योजना बनाएको जानकारी पनि उनले दिए। “विभिन्न समयमा गठन गरिएका ती आयोग र निकायहरूको काम प्रायः नगण्य छ। ती खारेज गर्दा मात्र पनि राज्यले वर्षमा अर्बौं खर्च बचत गर्न सक्छ,” उनले भने।
उनले वर्तमान ठूला दलहरू — कांग्रेस र एमाले — मा स्पष्ट सिद्धान्त र रणनीति नभएको आरोप लगाउँदै भने, “उनीहरूले नीति होइन, हामीलाई खण्डन गर्ने काम मात्रै गरेका छन्। अब संसदमा संसदीय अभ्यास कसरी गर्ने भन्ने कुरा रास्वपाले सिकाउनेछ।”
सांसद झाले प्रदेश र स्थानीय तहबीच समन्वयको खाँचो औंल्याउँदै संयोजन प्रभावकारी बनाउन आफ्नो पार्टीले नयाँ दृष्टिकोण अघि सारेको बताए। “अहिले प्रदेश र स्थानीय तहबीच समन्वय कमजोर छ, न त चिनजान छ, न त बुझाइ। हामी त्यो दूर गर्न चाहन्छौं,” उनले थपे।
रास्वपाले वर्तमान संरचना सरल, खर्च कटौतीमुखी र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै आफ्ना योजना सार्वजनिक गर्दै आएको छ।