ठूलो दलहरू मिलेर भ्रष्टाचार ढाकछोप गर्न सरकार बनाइँदैछ : डा. स्वर्णिम वाग्ले


ठूलो दलहरू मिलेर भ्रष्टाचार ढाकछोप गर्न सरकार बनाइँदैछ : डा. स्वर्णिम वाग्ले
  • नवकिरण
  • श्रावण १०, २०८२

काठमाडौँ, साउन १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको फाइल बचाउनकै लागि प्रमुख राजनीतिक दलहरू मिलेर सरकार बनाउने प्रवृत्ति नेपालमा दोहोरिएको आरोप लगाएका छन्।

शनिबार काठमाडौँमा आयोजित रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौँ सम्पर्क समिति भेलामा बोल्दै वाग्लेले भने, “देशमा ठूला राजनीतिक परिवर्तनपछि स्थायित्वका नाममा गठबन्धन सरकार बनाउने प्रचलन भए पनि अहिले केही भ्रष्ट व्यक्तिहरूको फाइल जोगाउनकै लागि यस्तो गठबन्धन गरिएको छ।”

उनले संविधान संशोधनको नाममा जनतालाई झुक्याउने प्रयत्न भइरहेको भन्दै वर्तमान सरकारमाथि तीव्र आलोचना गरे। “सरकारले समृद्धि र सुशासनको सपना देखाए पनि वास्तविकतामा मन्त्रीहरू आफैं भ्रष्टाचारमा लिप्त छन्,” वाग्लेले भने।

रास्वपाका नेताले वर्तमान सरकारले पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका रवि लामिछानेलाई थुन्नुलाई ठूलो सफलता मानेको टिप्पणी गर्दै त्यसको परिणाम चाँडै देशले देख्ने चेतावनी पनि दिए। उनले थपे, “२८ लाख नागरिकहरूले लामिछानेलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन्, यो जनआवाजको अवमूल्यन गर्न मिल्दैन।”

वाग्लेले गठबन्धन सरकारको उद्देश्य जनहित होइन, पद र फाइल संरक्षण भएको स्पष्ट दाबी गरे। उनका अनुसार जनताको विश्वास गुमाउँदै जानु नै वर्तमान नेतृत्वको मुख्य कमजोरी हो।