साउन १५ गते मुख्यमन्त्री शाह विश्वासको मत लिँदै, कांग्रेसले जारी गर्‍यो ह्विप


साउन १५ गते मुख्यमन्त्री शाह विश्वासको मत लिँदै, कांग्रेसले जारी गर्‍यो ह्विप
  • नवकिरण
  • श्रावण १२, २०८२

सुदूरपश्चिम, साउन १२ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते प्रदेशसभा बैठकबाट विश्वासको मत लिने भएका छन्। सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले समर्थन फिर्ता गरेपछि उत्पन्न परिस्थितिलाई सामना गर्न शाहले विश्वासको मत लिने निर्णय गरेका हुन्।

नेपाली कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्री शाहलाई सर्वसम्मत रूपमा समर्थन जनाउने निर्णय गरेको छ। बैठकपछि दलले आफ्ना सबै सांसदलाई प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई शाहको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

गत असार २० गते नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसअघि सो पार्टीका मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले पदमुक्त गरेका थिए। पारदर्शिता र सुशासन कायम गर्न गरिएको आग्रहको बेवास्ता भएपछि चौधरीलाई हटाइएको थियो।

नाउपाले समर्थन फिर्ता गरे पनि शाह नेतृत्वको सरकारलाई अझै पनि प्रदेशसभामा आवश्यक बहुमत प्राप्त छ। कुल ५३ सदस्यीय प्रदेशसभामा कांग्रेससँग १८, एमालेसँग ११, माओवादी केन्द्रसँग ११, एकीकृत समाजवादीसँग ४ (जसमध्ये एक निलम्बनमा), राप्रपासँग १ र एक स्वतन्त्र सदस्य रहेका छन्। नाउपाका ७ सदस्यले समर्थन फिर्ता गरेपनि सरकारलाई बहुमत पुर्याउन अन्य दलहरूको समर्थनले सहयोग गर्ने अनुमान गरिएको छ।

संविधान अनुसार समर्थन फिर्ता भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले मुख्यमन्त्री शाहले साउन १५ मा मत लिन लागेका हुन्। अबको मत परिणामले सरकारको भविष्य टुंगो लगाउनेछ।