विघटन होइन, सुधारतर्फ अघि बढ्ने निष्कर्षमा समाजवादी मोर्चा


विघटन होइन, सुधारतर्फ अघि बढ्ने निष्कर्षमा समाजवादी मोर्चा
  • नवकिरण
  • श्रावण १३, २०८२

काठमाडौं, साउन १३ – चार दल सम्मिलित समाजवादी मोर्चामा कार्यशैली र नेतृत्वको विषयमा देखिएको असहमति समाधानको दिशामा पुगेको छ।

नेकपा (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मोर्चा विघटनको प्रस्ताव गरेपछि मंगलबार सम्पन्न बैठकले अन्ततः मोर्चालाई सशक्त बनाउँदै अघि बढाउने निष्कर्ष निकालेको छ।

आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजकसमेत रहेका विप्लवले मोर्चाले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै विघटन वा कम्तीमा स्थगन गर्नुपर्ने प्रस्ताव राखेका थिए।

तर, बैठकमा सहभागी अन्य नेताहरू—माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रतिनिधिहरूले मोर्चा तत्काल विघटन गर्दा नकारात्मक सन्देश जाने भन्दै आपत्ति जनाएका थिए।

“गतिबिधि सञ्चालन, तालमेल, जिम्मेवारी बाँडफाँडमा स्पष्टता नहुँदा मोर्चा प्रभावहीन बनिरहेको छ,” बैठकमा विप्लवले भनेको स्रोतको भनाइ छ, “त्यसैले या त केही समयका लागि स्थगन गरौं, या पूर्णरूपमा पुनर्गठन गरौं।”

यद्यपि, अन्य नेताहरूले कमजोरीहरू सच्याउने र विप्लवकै संयोजकत्वमा मोर्चालाई पुनः सक्रिय बनाउने सहमति जनाएपछि मोर्चा विघटनको प्रस्ताव पछि परेको हो।

बैठकमा मोर्चाले विगतमा उठाएका मुद्दाहरू, जनस्तरमा पर्न गएको प्रभाव र कार्यकर्ताको भावना आदिको समीक्षा गर्दै आगामी दिनमा अझै गम्भीर भएर अघि बढ्ने निर्णय भएको एक नेताले जानकारी दिए।

नेकपा (एकीकृत समाजवादी) का नेता प्रमेश हमालले मोर्चाको कार्यक्रम परिमार्जन गरिएको र विचार मिल्ने अन्य दललाई समेत मोर्चामा सहभागी गराउने निर्णय गरिएको बताए।

नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने, “हामीले विगतका सबल र दुर्बल पक्षको समीक्षा गरेका छौं। अब जनअपेक्षा अनुसार सशक्त रूपमा मोर्चालाई अघि बढाउने संकल्प गरेका छौं।”

यससँगै, केही समयदेखि प्रभावहीन देखिएको समाजवादी मोर्चा पुनः सक्रिय हुने संकेत देखिएको छ। नेताहरूले आन्तरिक एकता, स्पष्ट योजना र जनस्तरमा उपस्थितिको विषयमा गम्भीर छलफल थालेका छन्।