गोरखा, साउन १६ – गोरखाका वन तथा संरक्षण क्षेत्रमा जडीबुटी सङ्कलनमार्फत गत आर्थिक वर्षमा २० लाखभन्दा बढी राजस्व संकलन भएको छ। डिभिजन वन कार्यालय गोरखा र मनास्लु संरक्षण क्षेत्र आयोजनाले संयुक्त रूपमा यो राजस्व संकलन गरेका हुन्।
गत वर्ष विभिन्न वन तथा संरक्षण क्षेत्रबाट जम्मा ४६ हजार ९७४ केजी जडीबुटी सङ्कलन तथा निकासी गरिएको थियो।
मनास्लु क्षेत्र मात्रबाट ११ हजार ३९२ केजी जडीबुटी निकासी भई त्यसबाट १२ लाख ७० हजार ४१९ रुपैयाँ राजस्व संकलन भएको आयोजनाले जनाएको छ।
आर्थिक वर्ष २०८१/८२ मा यार्सागुम्बा एक्लैले १० लाख ८९ हजार ८९० रुपैयाँ राजस्व जुटाएको छ। करिब ३४.१९ केजी यार्सागुम्बा संकलन गरिएको थियो।
मनास्लु क्षेत्रमा संकलन गरिएका अन्य जडीबुटीमा बुकीफूल, पदमचाल, रातोच्याउ, निर्मसी, टुकीफूल, टिमुर, धुपी, सुनपाती, सेतक्चिनी, गुलाफ, जिम्बु, चिराइतोलगायत रहेका छन्।
यता, मनास्लु क्षेत्र बाहेकका वन क्षेत्रहरूबाट ३५ हजार ५८२ केजी जडीबुटी संकलन भई डिभिजन वन कार्यालयमार्फत ७ लाख ४५ हजार ९८५ रुपैयाँ राजस्व उठाइएको छ।
सबैभन्दा धेरै आम्दानी जटामसीबाट भएको हो। उक्त वनस्पतिबाट मात्रै ३ लाख ५६ हजार २५० रुपैयाँ राजस्व संकलन भएको कार्यालयका प्रमुख सन्तोष शेरचनले जानकारी दिए।
वन तथा जडीबुटी संरक्षण र व्यवस्थापनमा स्थानीय तहको सक्रियता र मनास्लु क्षेत्रको जैविक विविधताको संरक्षणले यस्तो उल्लेखनीय राजस्व संकलन गर्न सफल भएको जनाइएको छ।