“राजीनामा दिएर भाग्नेवाला म होइन” – झलनाथ खनाल


“राजीनामा दिएर भाग्नेवाला म होइन” – झलनाथ खनाल
  • नवकिरण
  • श्रावण १७, २०८२

काठमाडौं, साउन १७ -नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले आफूमाथि भएको आलोचना र राजीनामाको मागलाई खारेज गरेका छन्।

शनिबार राजधानी काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पार्टी त्याग्ने वा पदबाट सिधै राजीनामा दिने कुनै योजना नभएको प्रष्ट पारे।

“विद्रोह गरेर बनाएको पार्टी हो, यसलाई सुदृढ र रूपान्तरण गर्नुपर्छ,” खनालले भने, “राजीनामा दिएर म भाग्ने होइन। मलाई कसैले राजीनामा भन्यो भनेर खुरुक्क हिँड्दिनँ।”

उनले पार्टीभित्र उत्पन्न विवादको केन्द्रमा रहेका अध्यक्ष माधवकुमार नेपालप्रति पनि कटाक्ष गरे। “यदि कसैलाई पार्टी आवश्यक छैन, काम गर्न सक्दैन भने उनीहरू आफैँ बाटो लागे हुन्छ,” उनले चेतावनी दिए, “तर म त्यस्तो काम जान्दिनँ।”

एमाले विभाजनको औचित्य पुष्टि गर्न नसकेको भनेर टेलिभिजन अन्तर्वार्तामा दिएका खनालका अभिव्यक्तिपछि अध्यक्ष नेपालले नैतिक जिम्मेवारीस्वरूप खनालले राजीनामा दिनुपर्ने प्रतिक्रिया दिएका थिए। त्यसपछि दुई नेताबीचको अन्तरद्वन्द्व खुल्ला रूपमा सतहमा आएको हो।

खनालले भने आफूमाथि प्रश्न उठे बहस गर्न तयार रहेको बताए। “मैले लेखेको वा बोलेको विषयमा समस्या छ भने पार्टी बैठक डाकेर छलफल गर्न सकिन्छ,” उनले थपे।

अध्यक्ष नेपाललाई लक्षित गर्दै खनालले विगतमा जस्तोसुकै सरकारमा सहभागी हुने, कांग्रेससँग साँठगाँठ गरेर चुनाव लड्ने, वर्गीय हितविपरीतका निर्णय लिने जस्ता प्रवृत्तिले पार्टीलाई नै संकटमा पारेको आरोप लगाए।

त्यस्तै, आफूले पार्टीभित्र वैज्ञानिक समाजवादको विचार अघि सारे पनि त्यसलाई पार्टीले आधिकारिक रूपमा नअपनाएकोमा पनि उनले असन्तुष्टि जनाए।

झलनाथ खनालका पछिल्ला अभिव्यक्तिहरूले पार्टीभित्रको आन्तरिक मतभेद थप चर्किने संकेत देखिएको छ।