भैरहवा कारागारमा बाबुराम भट्टराईले गरे रवि लामिछानेसँग भेट


भैरहवा कारागारमा बाबुराम भट्टराईले गरे रवि लामिछानेसँग भेट
  • नवकिरण
  • श्रावण २२, २०८२

बुटवल, साउन २२ – नेता डा. बाबुराम भट्टराईले भैरहवा कारागार पुगेर रास्वपाका सभापति रवि लामिछानेलाई भेटेका छन्। भेटमा देशमा वैकल्पिक राजनीतिक शक्ति निर्माण, सुशासन र समृद्धिका सम्भावनाबारे गम्भीर छलफल भएको बताइएको छ।

भट्टराई अहिले लुम्बिनी प्रदेशमा आयोजित नेसपा नयाँ शक्तिको दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन भैरहवा आएका थिए। कार्यक्रमकै क्रममा बिहीबार उनले कारागारमा रहेका लामिछानेलाई भेटेका हुन्।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. भट्टराईले भने, “रवि लामिछानेमाथि हालसम्म आरोप पुष्टि भएको देखिँदैन। उनी भाग्ने खालका व्यक्ति होइनन्, जनताबाट निर्वाचित प्रतिनिधि हुन्।”

उनले अदालतको निर्णयमा खुलेर टिप्पणी नगर्ने बताउँदै पनि न्यायिक प्रक्रियाले निष्पक्षता देखाउनुपर्ने आवश्यकता रहेको संकेत गरे।

डा. भट्टराईले आफू लामिछानेप्रति सद्भाव राख्ने र सकारात्मक राजनीतिक संवादमा विश्वास गर्ने भन्दै भेटघाटको उद्देश्य वैचारिक आदानप्रदान रहेको बताए।

उनको साथमा रहेका नेसपाका केन्द्रीय सदस्य पङ्कज राईका अनुसार भेटमा मुलुकमा वैकल्पिक शक्ति निर्माणको आवश्यकता, राजनीतिक शुद्धता, र आमनागरिकको विश्वास जित्नेसम्बन्धी मुद्दाहरू उठेका थिए।

रवि लामिछाने अहिले एक बहुचर्चित मुद्दामा थुनामा रहेका छन्। राजनीतिक वृत्तमा उनलाई भेट्न पुगेका भट्टराई हालैका दिनमा नयाँ गठबन्धन निर्माण र वैकल्पिक राजनीतिका मुद्दामा सक्रिय देखिएका छन्।

यो भेटले देशको वर्तमान राजनीतिक बहसमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।