काठमाडौं, साउन २२ – पोर्चुगल र हंगेरी जस्ता युरोपेली देशहरूमा उच्च तलबको सपना देखाई ठगी गर्ने दुई जना व्यक्तिहरूलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमा बाराको निजगढ नगरपालिका–१२ का रामबहादुर थिङ (४१) र रामेछाप नगरपालिका–३ का चन्द्रबहादुर सुवेदी (३७) रहेका छन्। दुवै जना हाल भक्तपुर जिल्लामा बसोबास गर्दै आएका थिए।
रामबहादुर थिङले पोर्चुगल पठाइदिन्छु भन्दै ६ जना व्यक्तिबाट जम्मा २९ लाख रुपैयाँ उठाएको र त्यसपछि सम्पर्कविहीन भएको पीडितले बताएका छन्। त्यस्तै, चन्द्रबहादुर सुवेदीले हंगेरी लैजाने भन्दै एक व्यक्तिबाट २ लाख ५० हजार रुपैयाँ लिएर बेपत्ता भएको उजुरी परेको थियो।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले रामबहादुरलाई मंगलबार र चन्द्रबहादुरलाई बुधबार भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ बाट पक्राउ गरेको हो।
हाल उनीहरूलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।
विदेश जाने नाममा हुने ठगीका घटनाहरू बढ्दो अवस्थामा रहेको सन्दर्भमा प्रहरीले यस्तो गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध कठोर कदम चाल्ने चेतावनी पनि दिएको छ।