डडेल्धुरामा दलित युवकमाथि दुर्व्यवहार आरोप, वडाध्यक्ष विवादमा


डडेल्धुरामा दलित युवकमाथि दुर्व्यवहार आरोप, वडाध्यक्ष विवादमा
  • नवकिरण
  • श्रावण २६, २०८२

डडेल्धुरा, साउन २६ – परशुराम नगरपालिका–८ का वडाध्यक्ष दिनेशप्रसाद जोशीमाथि एक दलित युवकमाथि दुर्व्यवहार गरेको आरोप सार्वजनिक भएको छ।

आरोप अनुसार, २४ वर्षीय लोकेन्द्र लुहार (विक) बिरामी भाइलाई मोटरसाइकलमा राखी अस्पताल लैजाँदै गर्दा वडाध्यक्षसँग बाटोमा विवाद भएको हो। लुहारले वडाध्यक्षले अभद्र व्यवहार गरेको दाबी गरेका छन्।

घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढामा दुवै पक्षबीच छलफल भएको थियो। वडाध्यक्ष जोशीले भने विवाद आपसी सहमतिमा टुंगिएको र घटना अनावश्यक रूपमा उचालिएको बताएका छन्। उनका अनुसार, बाटोमा केही व्यक्तिले अशोभनीय टिप्पणी गरेपछि सामान्य झगडा मात्र भएको हो र छलफलका क्रममा लुहारले गल्ती स्वीकार गरेका थिए।

तर, नेपाल दलित मुक्ति मोर्चा डडेल्धुराका अध्यक्ष धर्मेन्द्र नेपालीले सामाजिक सञ्जालमार्फत वडाध्यक्ष विरुद्ध कडा आपत्ति जनाउँदै तत्काल कानुनी कारबाहीको माग गरेका छन्। उनले सार्वजनिक स्थलमा दलितमाथि हुने विभेद र हिंसा अस्वीकार्य भएको चेतावनी दिएका छन्।