काठमाडौँ, साउन २७ – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा काठमाडौँ जिल्ला अदालतले साक्षी बकपत्रका लागि मिति तोकेको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा हुने बकपत्रपछि मुद्दा अन्तिम सुनुवाइ चरणमा प्रवेश गर्ने तयारी भएको अदालत स्रोतले जनाएको छ।
यो मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो। थुनछेक आदेश जारी भएयता ३२ पटक पेसी चढेकामा, गत १ वैशाखयता मात्र २२ पटक सुनुवाइ मिति तोकिएको छ।
२०८१ सालमा ७ र २०८० सालमा ४ पटक पेसी तोकिएको यस प्रकरणमा, दुई वर्षपछि मात्र सुनुवाइलाई निरन्तरता दिन लागेको हो। गृहमन्त्री र गृह सचिवस्तरमा बिचौलियासँगको ‘सेटिङ’मार्फत नक्कली शरणार्थी सूची तयार भएको खुलासा भएपछि, १२ चैत २०७९ मा केशव दुलालसहित केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो।