काठमाडौं, साउन २७ – नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा थुनामा रहेका सभापति रवि लामिछानेको पक्षमा अदालत प्रभावित पार्ने उद्देश्यले हस्ताक्षर संकलन गरिरहेको आरोप लगाएकी छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै उनले रास्वपाले बीपी कोइराला र नेल्सन मण्डेलाको उदाहरण दिँदै लामिछानेलाई जननायकका रूपमा प्रस्तुत गर्न खोजेको भन्दै आपत्ति जनाइन्। “जनतालाई ठगेर जेल पुगेकालाई जनताको लागि संघर्ष गर्ने नेतासँग तुलना गर्नु गलत हो,” उनले भनिन्।
न्यौपानेका अनुसार हालका केही कानुन निर्माण प्रक्रियामा स्वार्थ समूहको प्रभाव स्पष्ट देखिएको छ। सरकारले नेपाल ऐन संशोधन विधेयकमार्फत एकैपटक धेरै कानुन परिमार्जन गर्ने प्रवृत्तिले पर्याप्त छलफल नहुने र कतिपय कानुनमा अर्थको अनर्थ हुने स्थिति सिर्जना भएको उनले बताइन्।
उनले विगतका केही घटनाले गलत कानुन निर्माणको पुष्टि गरेको दाबी गर्दै स्पष्ट र विषयगत संशोधन ल्याउने अभ्यास आवश्यक रहेको उल्लेख गरिन्। साथै, कारागार प्रणालीमा समेत सुधारको खाँचो रहेको उनले जोड दिइन्।