वैदेशिक रोजगारीमा मृत्यु हुने नेपालीको शव अब अनिवार्य पोस्टमार्टम गरिने


वैदेशिक रोजगारीमा मृत्यु हुने नेपालीको शव अब अनिवार्य पोस्टमार्टम गरिने
  • नवकिरण
  • श्रावण २८, २०८२

काठमाडौं, साउन २८ – विदेशमा काम गर्ने क्रममा मृत्यु हुने नेपाली श्रमिकको शव अब गन्तव्य मुलुकमै अनिवार्य पोस्टमार्टम गर्नुपर्ने भएको छ। सरकारले हालै सार्वजनिक गरेको राष्ट्रिय आप्रवासन नीति २०८२ मार्फत यो व्यवस्था ल्याइएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार पोस्टमार्टमको मुख्य उद्देश्य मृत्युको वास्तविक कारण पत्ता लगाउनु हो, जसले बीमा, क्षतिपूर्ति र राहत रकम सुनिश्चित गर्न मद्दत गर्नेछ। हाल धेरैजसो मृत्युहरू ‘प्राकृतिक’ भनेर सामान्यीकरण गरिँदै पोस्टमार्टम नगरी शव पठाइँदा पीडित परिवारले बीमा तथा राहत पाउनबाट वञ्चित हुँदै आएका छन्।

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार, वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई २४-घण्टे बीमा अनिवार्य गर्नुपर्ने सरकारको स्पष्ट अडान छ। “कामका लागि विदेश गएकाले उनीहरू जतिखेर पनि जोखिममा हुन्छन्, त्यसैले मृत्युको समय वा कारण जे भए पनि परिवारलाई क्षतिपूर्ति मिल्नुपर्छ,” उनले बताए।

सन् २०६५ देखि २०८२ असार मसान्तसम्म १४ हजार ५५४ श्रमिकको विदेशमै मृत्यु भएको सरकारी तथ्यांकले देखाउँछ। सबैभन्दा धेरै मृत्यु ‘प्राकृतिक’ कारण देखाइएका छन्, त्यसपछि मुटु सम्बन्धी समस्या, सवारी दुर्घटना, आत्महत्या र कार्यस्थल दुर्घटना क्रमशः छन्।

स्वास्थ्य विज्ञका अनुसार पोस्टमार्टमले न केवल मृत्युको वैज्ञानिक कारण स्पष्ट पार्छ, तर यसका आधारमा भविष्यमा वैदेशिक रोजगारीमा पठाइने कामदारको स्वास्थ्य परीक्षण सुधार गर्न नीतिगत मार्गदर्शन पनि दिन सक्छ।

तर, यो नीतिको कार्यान्वयन गन्तव्य मुलुकको सहमतिबिना सम्भव नहुने भएकाले नेपालले द्विपक्षीय श्रम सम्झौतामा पोस्टमार्टम र २४-घण्टे बीमा प्रावधान अनिवार्य राख्ने तयारी गरेको छ। पुराना सम्झौता पुनरावलोकन गर्दा पनि यसलाई समेट्ने सरकारको योजना छ।

नीतिविद्हरूका अनुसार, यो प्रक्रिया केवल मृतक श्रमिकको परिवारलाई न्याय दिने मात्र नभई भविष्यमा यस्ता घटनाको जोखिम घटाउन दीर्घकालीन उपाय बन्न सक्छ।