काठमाडौं, साउन २८ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अस्थिर पार्ने विपक्षी प्रयास असफल हुने दाबी गरेका छन्। उनले २०८४ सालसम्म वर्तमान सत्ता समीकरण यथावत रहने स्पष्ट पारे।
बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै टिप्पणी गरे। ओलीका अनुसार, प्रचण्डले बारम्बार “आजै सरकार ढल्छ, भोलि ढल्छ” भन्ने बयान दिएर अस्थिरताको वातावरण बनाउन खोजिरहेका छन्।
“बलियो संसदीय गणितमा टेकेको सरकारलाई ढाल्ने हल्ला मात्र गर्ने, अनि नढलेपछि ‘अब त रूची छैन’ भन्ने—यो देशको राजनीतिक र नीतिगत स्थिरताका लागि त निश्चितै होइन,” प्रधानमन्त्री ओलीले भने।
उनले जतिसुकै चाहना राखे पनि २०८४ सम्म यही सत्ता समीकरण अघि बढ्ने दृढ विश्वास व्यक्त गरे।