काठमाडौं, साउन २८ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवं अभिनेत्री रेखा थापाले पार्टीभित्रको आन्तरिक कलह चर्किंदै जाँदा विशेष महाधिवेशनको माग अघि सारेकी छन्।
थापाले सामाजिक सञ्जालमार्फत नेतृत्वप्रति प्रश्न उठाउँदै लेखेकी छन्, “राप्रपाभित्रको किचलोले विशेष महाधिवेशनको माग भएन र?” उनी गत महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार भए पनि पराजित भएकी थिइन्।
अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणा पक्षबीचको विवादले हाल पार्टी दुई खेमामा विभाजित छ। लिङ्देनले केही नेताहरूलाई पदमुक्त गरेपछि राणा पक्ष आक्रोशित बनेको छ, तर अध्यक्ष पक्ष निर्णयमा अडिग छ।
विवादको असर हालै सम्पन्न राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशनमा देखियो, जहाँ दुई पक्षबीच हाताहात सम्मको झडप भयो। त्यसपछि लिङ्देनले अधिवेशन स्थगित गरेका थिए, तर अर्को पक्षले एकतर्फी नयाँ समिति गठन गरिदिएको छ।