सुकुम्वासी बस्ती हटाउने क्रममा झडप, ३ नगर प्रहरी घाइते


सुकुम्वासी बस्ती हटाउने क्रममा झडप, ३ नगर प्रहरी घाइते
  • नवकिरण
  • श्रावण ३०, २०८२

काठमाडौं, साउन ३० – काठमाडौंको मनोहरा क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा शुक्रबार झडप भएको छ।

सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने क्रममा बस्तीका बासिन्दाले ढुंगामुढा गर्दा ३ जना नगर प्रहरी घाइते भएको प्रहरीले जनाएको छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको संयुक्त टोलीले बिहानैदेखि डोजर प्रयोग गरी घर टहरा भत्काउने कार्य थालेको थियो। नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार, बस्ती हटाउनुअघि पटक–पटक सूचना दिइए पनि बासिन्दाले अटेर गरेपछि बल प्रयोग गर्नुपरेको हो।

महानगरले हालसम्म करिब २०–२५ वटा संरचना भत्काइसकेको छ। घटनास्थलमा तनाव अझै कायम रहेको र स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी पठाइएको छ।

स्थानीयवासीले आफ्नो बासस्थान बिना वैकल्पिक व्यवस्था हटाइएको भन्दै विरोध गरेका छन् भने अधिकारीहरूले भने सार्वजनिक जग्गा संरक्षणका लागि कारबाही आवश्यक भएको बताएका छन्।