७५ वर्षीय वृद्ध एआई प्रेममा परेपछि सम्बन्ध विच्छेदको माग


७५ वर्षीय वृद्ध एआई प्रेममा परेपछि सम्बन्ध विच्छेदको माग
  • नवकिरण
  • भाद्र २, २०८२

काठमाडौं, भदौ २ – चीनमा एक अनौठो र चाखलाग्दो घटना सार्वजनिक भएको छ, जहाँ एक ७५ वर्षीय वृद्ध कृत्रिम बौद्धिकता (एआई)ले बनाएको युवतीप्रति आकर्षित भएर आफ्नै श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न तम्सिएका छन्।

जिआङ नामका ती वृद्धले सामाजिक सञ्जालमार्फत एउटी आकर्षक युवतीको अवतार देखेपछि कुराकानी सुरु गरे। युवतीको तस्बिर र कुराकानी शैलीले उनीलाई चाँडै मोहित बनायो। बोली र हाउभाउमा केही मेल नखाए पनि उनले त्यसलाई सामान्य ठाने।

समय बित्दै जाँदा वृद्ध ती युवतीसँग भावनात्मक रूपमा निकै जोडिए। दिनदिनै मोबाइल हातमा लिएर ती “प्रेमिका”को सन्देश कुरिरहन्थे। मोबाइलको अत्यधिक प्रयोगले पारिवारिक कलह चुलिँदै गयो र अन्ततः उनी श्रीमतीसँग डिभोर्स गर्न तयार भए।

तर, जब उनका छोराछोरीहरूले हस्तक्षेप गरे, तब मात्र वास्तविकता खुलेको हो – ती युवती एआई प्रविधिबाट सिर्जित पात्र थिइन्। छोराछोरीको समझदारीपूर्ण छलफलपछि वृद्धले सम्बन्ध विच्छेदको निर्णय फिर्ता लिए।

यो घटना प्रविधिको द्रुत विकाससँगै देखिएको नवीन सामाजिक चुनौतीको एउटा दृष्टान्त हो। यसअघि पनि अमेरिका लगायतका देशहरूमा मानिसहरू एआई पात्रहरूसँग भावनात्मक रूपमा गाँसिएर पारिवारिक सम्बन्ध तोडिएको खबर सार्वजनिक भइसकेको छ।

प्रविधिको प्रयोग जीवन सजिलो बनाउन भए तापनि, यसको असन्तुलित प्रयोगले भावनात्मक र सामाजिक जीवनमा कस्तो असर पार्न सक्छ भन्ने गम्भीर चेतावनी यस घटनाले दिएको छ।