काठमाडौँ, भदौ ३ – नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने योजना अघि बढाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसबारे आन्तरिक बहसमा जुटेको छ।
रास्वपाका नेताहरूका अनुसार औपचारिक निर्णय नभए पनि दलभित्र अनौपचारिक छलफल सुरु भएको छ। प्रमुख सचेतक सन्तोष परियारले संख्याको आधारमा शक्ति प्रदर्शन गर्दै गलत अभ्यास गर्ने प्रवृत्ति संसदीय मान्यता विपरीत भएको टिप्पणी गरे।
“दुई ठूला दलले संख्याको बलमा असंसदीय कदम चाले भने त्यसको प्रतिवाद हुनेछ,” परियारले भने, “यस्ता अभ्यासहरूले लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर बनाउँछ।”
कांग्रेस र एमालेले उपसभामुखविरुद्ध कदम चाल्ने तयारीलाई गम्भीरतापूर्वक लिँदै रास्वपाले त्यसको सामना कसरी गर्ने भन्ने विषयमा थप छलफल गर्ने तयारी गरेको परियारले स्पष्ट पारे।