काठमाडौं, भदौ ३ – कञ्चनपुरका विपिन जोशीको रिहाइका मागसहित मंगलबार माइतीघरमा युवाहरूले प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले “विपिनलाई अविलम्ब फर्काइयोस्”, “सरकार, नागरिकको सुरक्षामा ध्यान दे” भन्ने नारा लगाउँदै प्लेकार्ड प्रदर्शन गरे। उनीहरूले नेपाल सरकारले कूटनीतिक स्तरमा थप दबाब सिर्जना गर्नुपर्ने र विदेशिएका प्रत्येक नेपालीको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राखे।
विपिनको पक्षमा भेला भएका युवाहरूले हस्ताक्षर संकलन अभियान पनि चलाएका थिए।
यसअघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिनको उद्धारका लागि परराष्ट्र मन्त्रालयले अधिकतम प्रयास गरिरहेको बताएकी थिइन्।
त्यस्तै, विपिनकी आमा र बहिनी अहिले इजरायलमा छन्। उनीहरूले त्यहाँका राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेट गरी विपिनलाई सुरक्षित घर फर्काउन पहल गर्न आग्रह गरेका छन्।