नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा अन्तिम बहस सुरु


नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा अन्तिम बहस सुरु
  • नवकिरण
  • भाद्र १८, २०८२

काठमाडौं, भदौ १८ – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठूलो ठगी प्रकरण अन्तिम चरणमा पुगेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको हो।

यो प्रकरणमा हालसम्म ३३ जना प्रतिवादी बनेका छन्। २०७६ जेठमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पालामा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन भएपछि ठगी सुरु भएको अनुसन्धानमा खुलेको छ।

कार्यदलको प्रतिवेदनमै नक्कली नाम थपेर रकम असुल्ने काम भएको र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पालामा ठगी बल्झिएको देखिन्छ।

पहिलो चरणमा ११३ पीडितका उजुरीका आधारमा ३० जनाविरुद्ध मुद्दा दायर भयो। दोस्रो चरणमा थप पूरक जाहेरी परेपछि गोकुल थापा र उनकी पत्नी रमालगायत थपिए। तेस्रो चरणमा बेचन झा पक्राउ परेपछि प्रतिवादीको संख्या ३३ पुग्यो।

हालसम्म २२ जना पक्राउ परेका छन् भने ११ जना अझै फरार छन्। फरारमध्ये इन्द्रजित राईका छोरा निरज राई, झापाका सुनिल बुढाथोकी, मोरङकी विनिता सावदेन लिम्बु, अशोक पोखरेललगायत छन्।

पक्राउ परेकामध्ये ११ जना पुर्पक्षका लागि कारागारमा छन्। जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, इन्द्रजित राई, उनका छोरा प्रतिक, सचिव टेकनारायण पाण्डे र आङटावा शेर्पा पनि छन्।

७ जना धरौटीमा बाहिर छन्। कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका निजी सचिव नरेन्द्र केसी, शमशेर मियाँ र टेकनाथ रिजाल पनि धरौटीमा रिहा भएका छन्। यस्तै, लक्ष्मी महर्जनलगायत ४ जना साधारण तारेखमा बाहिरै रहेका छन्।

यो चर्चित प्रकरणमा प्रतिवादीलाई ठगी, राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी अभियोग लगाइएको छ।