गोदावरीमा सुरु भयो एमालेको दोस्रो विधान महाधिवेशन


गोदावरीमा सुरु भयो एमालेको दोस्रो विधान महाधिवेशन
  • नवकिरण
  • भाद्र २०, २०८२

काठमाडौँ, भदौ २० – नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि गोदावरीस्थित सनराइज हलमा प्रारम्भ भएको छ । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव ल्याउनेछन्। महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

यसअघि बिहीबार बसेको सचिवालय बैठकले महाधिवेशनको कार्यतालिका पारित गरेको थियो। सो अनुसार पहिलो दिन उद्घाटन सत्रपछि दस्तावेज प्रस्तुतीकरण हुने र दोस्रो दिन भदौ २१ गते प्रस्तुत प्रतिवेदनहरूलाई समूहगत छलफलमा लैजाने योजना छ। भदौ २२ गते समूह छलफलबाट आएका सुझावमाथि प्रतिउत्तर दिने कार्यक्रम तय भएको छ।

महाधिवेशनमा असहमति प्रकट गर्दै स्थायी कमिटी सदस्य कर्ण थापाले फरक दृष्टिकोणको दस्तावेज दर्ता गरेका छन्, जसलाई पनि महाधिवेशनमा प्रस्तुत गरिने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

यस्तै, पार्टीका विभिन्न आयोग र परिषद्का अध्यक्षहरूले पनि आफ्नो–आफ्नो प्रतिवेदन पेश गर्नेछन्। निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुतसँगै महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने तयारी छ।

देशभरका २,०२६ प्रतिनिधि र आयोजक मिलाएर जम्मा २,३४१ जना सहभागी हुने अनुमान गरिएको छ।