काठमाडौँ, भदौ २१ – नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक भूमिकाबारे फरक धारणा सतहमा आएका छन्।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी बन्दसत्रअन्तर्गतको छलफलमा सहभागी प्रतिनिधिहरूमध्ये अधिकांशले भण्डारीलाई पार्टीमा सक्रिय रुपमा फर्काउनुपर्ने बताएका छन्। उनीहरूको भनाइमा भण्डारीजस्ता अनुभवी नेतृलाई टाढा राख्नु पार्टीका लागि घाटा हुनेछ। तर थोरै संख्याले भने पूर्वराष्ट्रपतिलाई राजनीतिक भूमिकामा फर्कन दिन नहुने तर्क राखेका छन्।
प्रदेशगत छलफलमा सुदूरपश्चिमका अधिकांश प्रतिनिधि भण्डारीको पक्षमा देखिएका छन् भने बागमतीमा पनि धेरैले सदस्यता नवीकरण हुनुपर्ने धारणा राखेका छन्। लुम्बिनीमा शान्तराज ओलीलगायतले समर्थन जनाए पनि केही नेताहरूलाई विपक्षमा मत राख्न शीर्ष नेतृत्वबाटै निर्देशन आएको बताइएको छ। कोशी प्रदेशमा युवराज बाँस्कोटा, तारा राईलगायतले समर्थन गरे भने झापाका अध्यक्ष प्रेम गिरीले विरोध गरे।
गण्डकी प्रदेशमा भने खगराज अधिकारीले विधानमै व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई राजनीति प्रवेश रोक्नुपर्ने सुझाब दिए। विभाग, आयोग र सम्पर्क समितिमा छलफल हुँदा समर्थन र विरोध करिब आधा–आधा देखिएको छ।
२१ सय २६ प्रतिनिधि सहभागी महाधिवेशनमा आइतबारसम्म छलफल चल्नेछ। छलफलमा आएका निष्कर्षलाई सचिव योगेश भट्टराई नेतृत्वको प्रस्ताव समितिले प्रतिवेदनका रूपमा प्रस्तुत गर्ने तयारी छ।