काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि आयोजना हुने Zen G समूहको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले खुलेर समर्थन गरेका छन्।
उनी आफैं उमेर हदबन्दीका कारण र्यालीमा उपस्थित हुन नपाउने भए पनि, युवाहरूको माग बुझ्न र सुन्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “भोलिको र्याली स्पष्ट रूपमा Zen G को हो । उहाँहरू २८ वर्ष मुनिका हुनुहुन्छ । म त अझै उहाँहरूको नजरमा बुढो देखिन्छु तर उहाँहरूको सोच र उद्देश्य बुझ्न चाहन्छु।”
उनले कुनै राजनीतिक दल, नेता वा कार्यकर्ताले युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी पनि दिएका छन्।
“म उमेरकै कारण सहभागी हुन सक्दिनँ, तर उहाँहरूको आवाज बुझ्नु जरुरी छ, त्यसैले मेरो पूर्ण समर्थन छ,” उनले भनेका छन्।
युवाहरूसँग प्रश्न गर्दै बालेनले थपे, “प्रिय Zen G, तपाईंहरू कस्तो देश देख्न चाहनुहुन्छ?”