पोखरा, भदौ २५ – सामाजिक सञ्जाल नियमनविरुद्ध चर्किएको आन्दोलनको क्रममा गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाको भवनभित्र मंगलबार बिहान एक महिलाको जलेको शव फेला परेको छ । प्रहरीले बिहानै पोखरा लेकसाइडस्थित अंशुभरा ग्रुपको कार्यालय भवनमा खोजतलास गर्ने क्रममा शव भेटिएको पुष्टि गरेको हो ।
यसअघि मन्त्री थापाका भाइ ध्रुव थापाको नयाँबजारस्थित गाडीको स्वरूममा पनि एक महिलाको जलेको शव भेटिएको प्रहरीले जनाएको छ । दुबै घटनामा शव पूरै जलेको अवस्थामा भेटिएको बताइएका छन् ।
आन्दोलनकारीहरूले सोमबार रातिदेखि मंगलबार बिहानसम्म मन्त्री थापाको घर, अंशुभरा ग्रुप, बगैंचा रिसोर्ट लगायतका सम्पत्ति तोडफोड गरी आगजनी गरेका थिए । यस्तै, ध्रुव थापाको गाडी स्वरूम र ‘भर’ मा समेत आगो लगाइएको थियो ।
उग्र बनेका प्रदर्शनकारीहरूले पोखराका विभिन्न सरकारी तथा निजी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए । त्यसक्रममा पोखरा महानगरका मेयर धनराज आचार्य, नेता राजीव पहारी, भरत पहारीको होटल सरोबर र जितु गुरुङको बरपिपल रिसोर्टसमेत क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ ।