भट्टराई : आन्दोलन माग सम्बोधन गरी अन्तरिम सरकार गठन आवश्यक


भट्टराई : आन्दोलन माग सम्बोधन गरी अन्तरिम सरकार गठन आवश्यक
  • नवकिरण
  • भाद्र २६, २०८२

काठमाडौं, भदौ २६ – पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले जेनजी आन्दोलन अब शान्तिपूर्ण रूपमा अवतरणतर्फ उन्मुख हुनु सकारात्मक पक्ष भएको बताएका छन्।

उनका अनुसार सरकारले राजीनामा दिए पनि संविधानका आधारभूत अङ्गहरू यथावत् रहेकाले मुलुक शून्यतामा पुगेको छैन। “संविधान, संसद्, राष्ट्रपति–उपराष्ट्रपति लगायत राज्यका स्थायी संरचनाहरू कायम छन्। तिनै आधारमा नयाँ मार्गचित्र तय गर्नुपर्ने हुन्छ,” भट्टराईले टिप्पणी गरे।

उनले आन्दोलनकारीहरूले उठाएका मागलाई सम्बोधन गर्दै छिट्टै आमचुनावको वातावरण बनाउनुपर्नेमा जोड दिए। यसका लागि आन्दोलनमा संलग्न पक्षहरूको सिफारिस र सहभागितासहित अन्तरिम सरकार गठन गर्नुपर्ने उनको धारणा छ।

भट्टराईले चेतावनी दिँदै भने, “संविधानको बाटो छोडेर अन्य विकल्प खोज्ने प्रयास भयो भने देश ठूलो संकटमा पर्न सक्छ।”