काठमाडौं, भदौ २६ – अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिनुहुँदैन भन्दै केही युवाहरू बिहीबार बिहान जंगीअड्डा अगाडि प्रदर्शनमा उत्रिएका छन्।
प्रदर्शनकारीहरूले “जेनजि आन्दोलनको माग कार्कीलाई प्रधानमन्त्री बनाउनका लागि होइन” भन्दै नाराबाजी गरेका थिए। उनीहरूले भारतीय सञ्चारमाध्यमलाई जंगीअड्डा भित्र जाने अनुमति दिइए पनि नेपाली मिडियालाई रोकिएको भन्दै आपत्ति जनाएका छन्।
युवाहरूले ‘गो ब्याक इण्डिया’ जस्ता नारासहित भारतीय पत्रकारहरूप्रति आक्रोश प्रकट गरेका थिए। त्यहाँ उपस्थित सुरक्षा निकायले भिडलाई हटाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।