काठमाडौंमा जेनजी आन्दोलनका २४ शवको पोस्टमार्टम सम्पन्न, सातजना पूर्ण जलेका


काठमाडौंमा जेनजी आन्दोलनका २४ शवको पोस्टमार्टम सम्पन्न, सातजना पूर्ण जलेका
  • नवकिरण
  • भाद्र २९, २०८२

काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ जनाको शवको त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पोस्टमार्टम सकिएको छ।

फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार हालसम्म ४६ वटा शव अस्पताल पुगेका छन्। तीमध्ये २४ जनाको पोस्टमार्टम भइसकेको र १९ जना आफन्तले बुझिसकेका छन्।

तर, सबैभन्दा चुनौतीपूर्ण अवस्था भने सात शवको छ। ती शव काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी क्षेत्रबाट आएका हुन् र अत्यधिक जलेर कंकालको अवस्थामा पुगेका छन्। डा. चौधरीका अनुसार यस्तो अवस्थामा पहिचान गर्न लामो समय लाग्नेछ।

“सामान्यतया पोस्टमार्टम मृत्युको कारण पत्ता लगाउन गरिन्छ। तर यसपटक पहिचान नै मुख्य चुनौती हो,” उनले भने।

शव पहिचानको प्रक्रिया अनुसार पहिलो चरणमा मृतकको उचाइ, तौल, शरीरमा रहेका दाग वा ट्याटु जस्ता चिनारी हेर्ने गरिन्छ। तर यस्तो विपद्मा ती आधार पर्याप्त नहुन सक्छन्। त्यसपछि फिंगरप्रिन्ट, दाँतको संरचना (डेन्टल एक्जामिनेसन) र अन्ततः डीएनए परीक्षणमार्फत पहिचान गरिन्छ।

डा. चौधरीले भने, “सात शव यति धेरै जलेका छन् कि सीधा डीएनए परीक्षण गर्नुपर्ने सम्भावना छ। यदि शरीरभित्र इम्प्लान्ट (स्टिल) जडान भएको थियो भने त्यसकै आधारमा वा दाँतको बनावट र फिंगरप्रिन्ट मिलाएर मात्रै शव बुझाउन सकिन्छ।”

यसअघि सम्पन्न भएका पोस्टमार्टमपछि केही शव तत्काल आफन्तलाई बुझाइएको भए पनि अत्यधिक जलेका शवको पहिचान प्रक्रिया अझै जारी छ।