आगजनीमा संलग्न भिडियो बाहिरिएपछि पनौती रास्वपा नगर सभापति विवेक भट्टराईको राजीनामा


आगजनीमा संलग्न भिडियो बाहिरिएपछि पनौती रास्वपा नगर सभापति विवेक भट्टराईको राजीनामा
  • नवकिरण
  • भाद्र २९, २०८२

काभ्रेपलाञ्चोक, भदौ २९ – पनौतीमा भएको आगजनी र तोडफोड प्रकरणमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनौती नगर सभापति विवेक भट्टराईले पार्टी परित्याग गरेका छन्।

२४ भदौमा पनौती नगर क्षेत्रमा विभिन्न जनप्रतिनिधि र नेताहरूको घर तथा सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी भएको थियो। सो घटनामा भट्टराईको प्रत्यक्ष संलग्नता देखिने भिडियो र फोटो सार्वजनिक भएपछि उनले पद छाड्ने घोषणा गरेका हुन्।

भट्टराई हाल काठमाडौं विश्वविद्यालयको कुप्समा ल्याब टेक्निसियनका रूपमा कार्यरत छन्। भिडियोमा उनलाई पूर्वसांसद शिव हुमागाईंको घरमा रहेको गाडीमा आगो लगाएको दृश्यमा देखिएको छ। आन्दोलनको नेतृत्व पनि उनैले गरेको जनाइएको छ।

स्थानीयहरूले जनप्रतिनिधिका घरहरूमा आक्रमण गर्दा हुमागाईं, उपमेयर गीता बञ्जारा, मेयर रामशरण भण्डारी, पूर्वमेयर भीम न्यौपाने, क्याप्टेन रामेश्वर थापा र वडा नम्बर २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीको घरमा ठूलो क्षति पुगेको थियो।

न्यौपानेले भट्टराईले आफूलाई फोन गरी “मामा भिड रोक्न सकिनँ, ज्यान जोगाउनु” भनेको तर केही मिनेटमै आफ्नो घरमा आगजनी भएको बताए। न्यौपानेका दुई घर जलाइएका छन् र परिवार अहिले छिमेकीको शरणमा बसिरहेको उनले बताएका छन्।

सम्बन्धित भिडियो सार्वजनिक भएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत राजीनामा दिँदै आफूले आन्दोलनका क्रममा पार्टीको झन्डा बोक्नुको सट्टा जनताको रूपमा सहभागिता जनाएको र हिंसा नियन्त्रणका लागि प्रयास गरे पनि भिड नियन्त्रण गर्न नसकेको स्पष्ट पारेका छन्।

उनले लेखेका छन्, “परिवर्तन हाम्रो चाहना हो, तर अहिले नैतिक रूपमा नगर सभापतिको पदमा रहिरहन सक्दिनँ। त्यसैले आजकै मितिबाट सक्रिय राजनीति छाड्ने निर्णय गरेको छु।”