पोखरा, भदौ ३० – जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना दुई जना वडा सभापतिलाई निलम्बन गरेको छ।
रास्वपाको गण्डकी प्रदेश अनुशासन आयोगका प्रमुख योगेन्द्र केसीले विज्ञप्ति जारी गर्दै कास्कीको मादी–६ का वडा सभापति भोजराज पौडेल र पोखरा–१० का वडा सभापति चन्द्रबहादुर थापालाई तत्काल प्रभावले निलम्बन गरिएको जानकारी दिएका हुन्।
उनीहरू आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न भएको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कारबाही गरिएको रास्वपा गण्डकीले जनाएको छ।
अनुशासन आयोगका अनुसार विषयमा थप छानबिन र निर्णय नभएसम्म उनीहरूलाई निलम्बित अवस्थामै राखिनेछ।