ओली–देउवा अझै सुरक्षा घेराभित्र, बाँकी पूर्वप्रधानमन्त्रीहरू घर फर्किए


ओली–देउवा अझै सुरक्षा घेराभित्र, बाँकी पूर्वप्रधानमन्त्रीहरू घर फर्किए
  • नवकिरण
  • भाद्र ३१, २०८२

काठमाडौं, भदौ ३१ – जेनजी आन्दोलनपछि राजधानी उपत्यका क्रमशः सामान्य अवस्थामा फर्किँदै छ। भदौ २३ र २४ गते भएको प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाको मृत्यु भएपछिको आक्रोशमा प्रदर्शनकारीहरूले राजधानीसहित देशभरका सरकारी र राजनीतिक संरचनामा ठूलो क्षति पुर्‍याएका थिए।

प्रदर्शनकारीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भवन कब्जा गरी तोडफोड गरेका थिए भने राजनीतिक दलका कार्यालय, नेताका निवास र व्यापारिक भवनमा समेत आगजनी गरेका थिए। यस घटनाले देशको सुरक्षा प्रणालीमाथि ठूलो चुनौती खडा गरेको थियो।

उच्च सुरक्षा जोखिमका कारण नेपाली सेनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाट उद्धार गरी शिवपुरीस्थित ब्यारेकमा लगेको थियो। त्यस्तै, माओवादी संसदीय दलका नेता प्रचण्डलाई सिंहदरबारस्थित कार्यालयबाटै सुरक्षित स्थलमा लगिएको थियो।

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणामाथि बुढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारीले आक्रमण गरेका थिए। सेनाले उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगेको थियो। यसैबीच, पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवासमा आगजनी हुँदा उनकी पत्नी रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी छिन्।

जेनजी आन्दोलनकै क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निवास पनि आगलागीबाट क्षतिग्रस्त भएको थियो। तर उनी सेनाको ब्यारेकमा नबसिकन आफन्तको घरमा रहेका थिए।

उच्च स्रोतका अनुसार, हालसम्म ओली र देउवा मात्र सेनाको विशेष सुरक्षामा छन् भने बाँकी पूर्वप्रधानमन्त्री र निवर्तमान मन्त्रीहरू क्रमशः आफ्ना घर फर्किसकेका छन्।