सुमना श्रेष्ठमाथिको टिप्पणीबारे हरि ढकालको आत्मालोचना


सुमना श्रेष्ठमाथिको टिप्पणीबारे हरि ढकालको आत्मालोचना
  • नवकिरण
  • आश्विन १, २०८२

काठमाडौं, असोज १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले नेतृ सुमना श्रेष्ठलाई लक्षित गर्दै गरेका भनाइ फिर्ता लिँदै आत्मालोचना गरेका छन्।

हिजो सम्पन्न केन्द्रीय समिति भर्चुअल बैठकमा ढकालले आफूले भावावेशमा आएर प्रयोग गरेका शब्द उपयुक्त नभएको स्वीकार गर्दै क्षमायाचना गरेका हुन्। उनले आफ्ना वक्तव्यका कारण असहज परिस्थिति सिर्जना भएकोमा खेद व्यक्त गरेका छन्।

यसअघि भएको बैठकमा सभापति रवि लामिछानेको रिहाइबारे छलफल गर्ने क्रममा सुमना श्रेष्ठ र ढकालबीच वाकयुद्ध भएको थियो। त्यही क्रममा ढकालले श्रेष्ठलाई उद्देशित गर्दै ‘बाघको छालामा स्यालको रजाईं’ भन्ने उखान प्रयोग गरेका थिए। साथै, पार्टी नेतृत्वविरुद्ध जानेहरूले संगठन छाड्नुपर्ने धारणा पनि व्यक्त गरेका थिए।

श्रेष्ठले तीन दिनअघि पार्टी परित्याग गरेपछि ढकालप्रति असन्तुष्ट हुने नेताहरूको संख्या बढेको थियो। तर, पछिल्लो बैठकमा उनले स्वयं विषय उठाउँदै क्षमा मागेपछि उक्त विवाद केही शान्त भएको देखिएको छ।

बैठकमा असन्तुष्ट नेताहरूले कुनै टिप्पणी नगरेका र वरिष्ठ नेताहरू पनि मौन बसेको स्रोतहरूले जनाएका छन्।

यसैबीच, रास्वपाको बैठकले असोज २ गतेदेखि पार्टीका गतिविधि फेरि नियमित गर्ने र आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको सरसफाइ तथा पुनर्निर्माणमा सघाउने निर्णय गरेको छ।