काठमाडौं, असोज ४ – संविधान दिवसका अवसरमा शुक्रबार शीतलनिवासमा आयोजित चियापान कार्यक्रममा पुगेका हामी नेपालका संयोजक सुदन गुरुङले आफू सेलिब्रेसन गर्न नभई पुराना नेताहरूको ‘शिर नउठाउन’ त्यहाँ पुगेको स्पष्टीकरण दिएका छन्।
शनिबार सार्वजनिक गरेको भिडियो सन्देशमार्फत उनले कार्यक्रममा आफ्नो उपस्थितिबारे उठेका प्रश्नको जवाफ दिएका हुन्। गुरुङले भने, “धेरैलाई लाग्यो, म सेलिब्रेट गर्न गएको हुँ। तर त्यो सत्य होइन। मलाई सेलिब्रेट गर्नु पनि छैन। सुरुमा त नजाने निर्णय गरेको थिएँ।”
उनका अनुसार कार्यक्रममा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, सांसददेखि नयाँ पुस्ताका नेतासम्म उपस्थित थिए। पुराना नेताहरू पनि आउँछन् भन्ने जानकारी पाएपछि उनीहरू “शिर उचालेर हिँड्छन् भन्ने सोच”ले आफू पनि त्यहाँ पुगेको उनले बताए।
गुरुङले कार्यक्रममा आफूले नेताहरूसँगै बस्न अस्वीकार गरेको उल्लेख गर्दै थपे, “म कुर्सीमा बसेँ दिनँ, उभिएर मात्र बसेँ। चिया खाउँ भनेर आग्रह गरियो, तर मैले चिया खाइनँ। पानी पनि खाइनँ, अशुद्ध हुन्छु भनेर अस्वीकार गरें।”
उनको उपस्थितिबारे सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला गुरुङको यो स्पष्टीकरण सार्वजनिक भएको हो।