धनगढी, असोज ७ – जेनजी आन्दोलनको अव्यवस्थित वातावरणका बीच सुदूरपश्चिम प्रदेशका विभिन्न कारागार तोडफोड भई ठूलो संख्यामा कैदीबन्दी भागेका थिए।
प्रदेश प्रहरीका अनुसार हालसम्म १ हजार ४५८ मध्ये ८४५ जना कैदीबन्दी मात्र फर्किएका छन् भने ६१३ जना अझै सम्पर्कविहीन छन्।
फरार हुनेहरूमा लागूऔषध कारोबार, चोरी र हातहतियार अपराधमा सजाय काटिरहेका कैदीसमेत छन्। विशेषगरी कैलाली र कञ्चनपुरका कारागारबाट भागेका २१ जना भारतीय कैदीमध्ये २० जना अझै पक्राउ परेका छैनन्।
प्रहरीले बाँकी फरार कैदीहरू भारततर्फ भाग्ने सम्भावना भएकाले सीमा क्षेत्रमा निगरानी कडा बनाएको जनाएको छ। साथै, उनीहरूको खोजीका लागि भारतीय प्रहरीसँग पनि समन्वय भइरहेको प्रहरीले बताएको छ।
सुरुवाती दिनमा त्रास र अस्थिरता भए पनि कैदीहरू क्रमशः कारागार फर्किन थालेपछि अवस्था केही सामान्य बन्दै गएको प्रहरीको भनाइ छ।