काठमाडौँ, असोज ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि अनिश्चितकालीन आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्।
मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उनले हाल जेनजी आन्दोलनको आधारमा बनेको अन्तरिम सरकारप्रति असन्तुष्टि जनाउँदै छठ पर्व सकिएलगत्तै आन्दोलन थाल्ने बताएका हुन्।
उनको भनाइमा, “हामी दसैँ, तिहार र छठपछि हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सँगसँगै किराँत–बौद्धसहितको हिन्दु अधिराज्य कायम गर्ने मागसहित सडकमा उत्रनेछौँ। पुनर्स्थापना नभएसम्म आन्दोलन निरन्तर हुन्छ।”
प्रसाईँले सामाजिक सञ्जालमै सीमित हुने आन्दोलन अब नगर्ने स्पष्ट पार्दै भने, “हामी आफैं नेतृत्व गरेर जनतालाई सडकमा उतार्छौँ। यो आन्दोलन २०४७ सालको संविधान पुनर्स्थापनाका लागि हुनेछ।”
उनले जेनजी आन्दोलनलाई बाह्य प्रभावले हाइज्याक गरिएको आरोप लगाउँदै केही व्यक्तिहरू मन्त्री बन्ने लालसामा लागेका कारण आन्दोलनको मूल लक्ष्य हराएको दाबी पनि गरे।