सभापति रविलाई पदबाट अलग हुन सुदूरपश्चिम समितिको सुझाव


सभापति रविलाई पदबाट अलग हुन सुदूरपश्चिम समितिको सुझाव
  • नवकिरण
  • आश्विन ७, २०८२

काठमाडौं, असोज ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिले पार्टी सभापति रवि लामिछानेलाई पद जिम्मेवारीबाट अलग हुनुपर्ने माग गरेको छ।

समितिले ६ असोजमा बसेको बैठकपछि केन्द्रलाई पठाएको पत्रमार्फत सभापति रविले उदारता देखाउँदै न्यायिक निकायबाट पूर्ण सफाई नआएसम्म पार्टी नेतृत्वको जिम्मेवारी छोड्नुपर्ने धारणा राखेको हो।

पत्रमा उल्लेख छ– “सभापति ज्यूलाई पटक–पटक गलत सल्लाह दिने अंगहरूको अपरिपक्वता र सहानुभूति कमाउने प्रयासले पार्टीलाई निरन्तर धोका दिएको छ। नख्खु कारागारबाट बाहिरिने निर्णय त्यही हतार र असावधानीको ज्वलन्त उदाहरण हो।”

रविलाई भदौ २४ गते सुरक्षा कारण देखाउँदै कारागारबाट बाहिर निकालिएको घटनाले उनको पक्षमा हस्ताक्षर गर्ने ४० लाखभन्दा बढी समर्थकको भावना आहत भएको समितिको ठहर छ। सो हस्ताक्षर अभियान असार ७ देखि सुरु गरिएको थियो।

सुदूरपश्चिम प्रदेश समितिले केन्द्रलाई पठाएको पत्रमा नख्खु कारागार पुगेका उपसभापति डीपी अर्याल, सहमहामन्त्री विपिन आचार्य, प्रवक्ता मनिष झा लगायतका नेताहरूको भूमिकाप्रति आपत्ति जनाइएको छ। उनीहरूलाई पदीय आचारसंहिताविपरीत कार्य गरेको भन्दै छानबिन र कारबाहीको माग समेत गरिएको छ।

पत्रमा भनिएको छ, “गलत निर्णयका कारण पार्टीको साख गुम्नुका साथै बौद्धिक वर्गमा बहसको विषय बनेको छ। यसले संगठन निस्क्रिय बनाएको छ र पार्टी पुनर्गठन अपरिहार्य बनेको छ।”

समितिले केन्द्रीय तहमा निरंकुश अभ्यास मौलाएको र व्यक्तिगत पूजा गर्ने प्रवृत्ति बढेको भन्दै सचेत गराएको छ।