ज्वाङखोलामा फेरि पहिरो, पृथ्वी राजमार्ग अबरुद्ध


ज्वाङखोलामा फेरि पहिरो, पृथ्वी राजमार्ग अबरुद्ध
  • नवकिरण
  • आश्विन ९, २०८२

धादिङ, असोज ९ – धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला र तिङराङखानी क्षेत्रमा बिहीबार बिहान फेरि ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान करिब १० बजेदेखि खस्न सुरु भएको पहिरोले राजमार्गमा ठूलो मात्रामा ढुङ्गा–माटो थुप्रिएपछि सवारी आवागमन दुबै तर्फ पूर्ण रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

दसैँको समयमा घर फर्किने यात्रुको चाप बढिरहेका बेला बाटो बन्द हुँदा सयौँ गाडी बाटैमा रोकिएका छन् । सुरक्षाकर्मीहरूले जोखिम कम हुने स्थानमा ती सवारी साधन सार्ने काम गरिरहेका जिल्ला प्रहरी उपरीक्षक भेषराज रिजालले बताए ।

राजमार्ग नजिकै मात्र नभई अन्य स्थानहरूमा पनि पहिरोको उच्च जोखिम रहेको भन्दै प्रहरीले यात्रुलाई सतर्क रहन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

यसअघि सोमबार राति त्यही क्षेत्रमा सुक्खा पहिरो खसेर १७ घण्टा आवागमन ठप्प भएको थियो । बुधबार बेलुका झरेको अर्को पहिरो पन्छाएपछि बिहीबार बिहान मात्र सडक खुलेको थियो । तर, पुनः पहिरो खस्दा फेरि यातायात ठप्प भएको हो ।