बालेन–हर्क–रास्वपालाई एउटै एजेन्डामा ल्याउनुपर्ने डा. भट्टराईको सुझाव


बालेन–हर्क–रास्वपालाई एउटै एजेन्डामा ल्याउनुपर्ने डा. भट्टराईको सुझाव
  • नवकिरण
  • आश्विन ९, २०८२

काठमाडौं, असोज ९ – पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका नेता डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौंका मेयर बालेन्द्र शाह, धरानका मेयर हर्क साम्पाङसहित नयाँ पुस्ताबाट उदाएका नेताहरूमाझ सहकार्यको आवश्यकता औंल्याए ।

भट्टराईले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई साझा आधार मानेर नयाँ शक्तिहरू मिल्नुपर्नेमा जोड दिए । उनले भने, “गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र नै हाम्रो आधारस्तम्भ हो । यहीमा टेकेर वैकल्पिक शक्तिहरूले एउटै मोर्चा बनाउनुपर्छ ।”

यदि एउटै पार्टी वा संगठनमा आउने सम्भावना नभए पनि सहकार्य, मोर्चा वा वैकल्पिक गठबन्धनमार्फत अघि बढ्न सकिने उनको भनाइ थियो ।

भट्टराईले नेपाली कांग्रेस, एमाले र माओवादीलाई “पुराना थोत्रा” पार्टीको संज्ञा दिंदै ती शक्तिहरूबाट सुधारको सम्भावना देखिन्न भने । बरु ती पार्टीभित्रका दोस्रो, तेस्रो पुस्ताका युवाहरूले विद्रोह गरेर वैकल्पिक अभियानमा जोडिनुपर्ने उनको सुझाव थियो ।

“पुराना दलका नेताहरू सच्चिनेवाला छैनन् । बरु युवापुस्ता विद्रोह गरेर नयाँ शक्तिसँग हातेमालो गर्नुपर्छ,” उनले भने, “त्यसो भए छिट्टै शासकीय सुधारतर्फ मार्ग प्रशस्त हुनेछ र निर्वाचन पनि तोकिएकै समयमा हुनेछ ।”

भट्टराईले आफू वैकल्पिक युवा शक्तिको पक्षमा उभिने र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । पार्टी अध्यक्ष पदबाट अलग भए पनि राजनीति छोडेको नभएको उनले स्पष्ट पारे ।