काठमाडौं, असोज १० – भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको दमन तथा तोडफोडबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले औपचारिक काम सुरु गरेको छ ।
आयोगले बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग परिसरमा कार्यालय स्थापना गरी असोज ९ देखि काम थालेको हो । आयोग सदस्य पूर्व एआईजी विज्ञानराज शर्माका अनुसार प्रारम्भिक चरणमा सो दिन माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा खटिएका प्रहरी अधिकृतहरूको बयान लिने तयारी भइरहेको छ ।
यसका लागि प्रदर्शन नियन्त्रणमा परिचालन भएका प्रहरीको सूची मागिएको छ । सोधपुछका आधारमा घटनाबारे विस्तृत जानकारी संकलन गर्ने आयोगको योजना छ ।
यस्तै, आयोगले गृह मन्त्रालयमार्फत सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको विवरण उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको छ । उद्योग प्रतिष्ठान, निजी सम्पत्ति र अन्य संरचनामा भएको नोक्सानीसमेत सूचीकृत गरिने बताइएको छ ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् बिन्देश्वरी भण्डारी सदस्य रहेका छन् ।