गोरखा, असोज १२ – जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका १२ जना कैदीबन्दी गोरखामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले आइतबार दिएको जानकारीअनुसार पक्राउ परेकामध्ये सात जना कास्की कारागार, तीन जना केन्द्रीय कारागार जगन्नाथदेवल, एक जना तनहुँ कारागार र एक जना बालसुधार गृह भक्तपुरका रहेका छन् ।
प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विकका अनुसार पक्राउ परेकामा कास्कीका विक्रम नेपाली, तेन्जिङ रिग्देल लामा, छेवाङ रिजिन लामा, सोनाम ल्याल्जेन लामा, बाबुराम नेपाली, राजेश विश्वकर्मा सुनार र सोनामा दोर्जे लामा रहेका छन् ।
त्यस्तै, केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका भरत ठकुरी, सुमन सुनदास र भुवन तामाङ, तनहुँ कारागारका विशाल उपरकोटी र बालसुधार गृह सानोठीमीकी सुस्मा मग्रातीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेकालाई केही समय जिल्ला प्रहरी कार्यालय गोरखाको थुनुवा कक्षमा राखेर कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार पठाइएको प्रहरीको भनाइ छ ।
एसपी विकका अनुसार गोरखाबाट पक्राउ परेकामध्ये अधिकांश गोरखा जिल्लाकै निवासी भए पनि अन्य जिल्लाका समेत रहेका छन् । अझै फरार कैदीबारे विवरण सङ्कलन भईरहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।