काठमाडौं, असोज १३ – दशैंको भीडभाडकै बेला मुग्लिन–नारायणगढ सडकखण्ड फेरि पहिरोका कारण अवरुद्ध भएको छ।
सोमबार मध्यान्ह १२ बजेतिर तुइन खोला पुल नजिकै पहिरो खसेपछि दुईतर्फी यातायात रोकिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। हालसम्म पनि माथिबाट ढुंगा–माटो खस्ने क्रम रोकिएको छैन, जसका कारण तत्काल पन्छाउने काम सुरु गर्न नसकिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार, पहिरो हटाउन आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा तैनाथ छन्। ‘पहिरो खस्ने क्रम पूर्णरुपमा रोकिएपछि मात्र सफाइ कार्य सुरु हुनेछ,’ डिभिजनले जनाएको छ।
यसअघि पनि यही ठाउँमा गत साताको पहिरो हटाउन करिब ४५ घण्टा लागेको थियो। लगातारको अवरोधले दशैं मनाउन पश्चिमतर्फ गइरहेका यात्रु र सवारी साधनलाई ठूलो समस्या भएको छ।
हाल सवारी साधनहरू मुग्लिन सडकखण्ड सम्म लामबद्ध भएका छन्।