काठमाडौं, असोज २४ – जेनजी आन्दोलनका क्रममा सरकारले गोली चलाउन आदेश दिएको भन्दै उठेका आरोपलाई निवर्तमान गृहमन्त्री रमेश लेखकले अस्वीकार गरेका छन्।
शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले प्रधानमन्त्री र आफूले कुनै पनि प्रकारको बल प्रयोगको आदेश नदिएको स्पष्ट पारे।
‘प्रधानमन्त्री वा गृहमन्त्रीको निर्देशनमा गोली चलाइयो भन्ने कुरा पूर्णरूपमा गलत हो,’ उनले भने, ‘सरकारबाट त्यस्तो आदेश कहिल्यै दिइएको थिएन।’
लेखकले आन्दोलनमा बाह्य घुसपैठ भएको विषय पनि पुनः उठाए। उनका अनुसार, घुसपैठबारे पहिलोपटक आफूले होइन, आन्दोलनका आयोजकहरूले नै सार्वजनिक रूपमा बताएका थिए।
‘घुसपैठको विषय आयोजकहरूले नै बताएका थिए, र पछि त्यही कुरा सत्य सावित भयो,’ उनले भने, ‘त्यसकै परिणामस्वरूप त्यो दुःखद घटना घट्न पुग्यो।’
आन्दोलनपछि पहिलो पटक मिडियामा खुलेर आएका लेखकले घटनाबारे व्यापक भ्रम फैलाइएको दाबी गर्दै जिम्मेवारीपूर्वक सरकारको भूमिका स्पष्ट गरेका छन्।
