इजरायलमा मारिएका विपिन जोशीको शव डिएनए परीक्षणपछि नेपाल पठाइने तयारी


इजरायलमा मारिएका विपिन जोशीको शव डिएनए परीक्षणपछि नेपाल पठाइने तयारी

|Oplus_131072

  • नवकिरण
  • आश्विन २८, २०८२

काठमाडौं, असोज २८ – हमासद्वारा हत्या गरिएका नेपाली युवा विपिन जोशीको शव अहिले इजरायलको सैनिक अस्पतालमा राखिएको छ । अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (ICRC)ले हमासबाट प्राप्त शव इजरायली सेनालाई हस्तान्तरण गरेपछि औपचारिक प्रक्रिया सुरु गरिएको हो ।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, शवको डिएनए परीक्षणपछि मात्र विपिनको पहिचान औपचारिक रूपमा पुष्टि गरिनेछ । उनले भने, “हमासले विपिनको भनेर बुझाएको शवको डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा राखिएको छ । परीक्षण रिपोर्ट आउन करिब चार घण्टा लाग्ने बताइएको छ । त्यसपछि मात्र नेपाल पठाउने तयारी अघि बढाइनेछ।”

राजदूत पण्डितले थप जानकारी दिँदै भने, “इजरायली सरकारले नै विपिनको शव कफिनमा बन्द गरी नेपाल पठाउने जिम्मा लिएको छ । तर, यसका लागि केही दिन समय लाग्नेछ।”

कञ्चनपुरका विपिन जोशी अध्ययनका क्रममा इजरायल पुगेका थिए । गत अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आतंकी आक्रमणका बेला उनी बन्धक बनाइएका थिए । सो हमलामा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिनलाई हमास लडाकुहरूले नियन्त्रणमा लिएका थिए ।

लगातार एक वर्षसम्म विपिनको अवस्था अज्ञात रहँदा मंगलबार मात्र इजरायली सेनाले उनको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको हो । युद्धविरामपछि बन्दीहरूको विनिमयका क्रममा हमासले विपिनको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको बताइएको छ ।