काठमाडौं, असोज २९ – नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन आह्वान गर्न माग गर्दै महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसमेत रहेको फाइल बुझाइएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा अघि बढाइएको यो पहलअन्तर्गत नेता गुरुराज घिमिरेको संयोजनमा संकलित हस्ताक्षर फाइल बुधबार अपराह्न ३ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यवाहक सभापति खड्कालाई बुझाइएको हो।
फाइल बुझाएपछि खड्काले कुनै औपचारिक प्रतिक्रिया नदिई ‘जय नेपाल’ भन्दै छोटो टिप्पणी गरेका थिए।
नेता घिमिरेका अनुसार, कुल २४८८ जना महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरेका छन्। उनले भने, “पार्टीमा देखिएको नेतृत्व संकट र निर्णयहीन अवस्थालाई अन्त्य गर्न विशेष महाधिवेशन अपरिहार्य भएको कारण हामीले यो पहल गरेका हौं।”
नेपाली कांग्रेसको विधान अनुसार, कुल महाधिवेशन प्रतिनिधिको कम्तीमा ४० प्रतिशतले माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ। तर, उक्त महाधिवेशन कुन विषयमा केन्द्रित हुनेछ वा कुन पदका लागि हुनेछ भन्ने स्पष्ट विवरण भने अहिले सार्वजनिक गरिएको छैन।
विशेष महाधिवेशनको मागसँगै पार्टीभित्र आन्तरिक छलफल र शक्ति समीकरण पुनः सक्रिय बन्ने संकेत देखिएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।